काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी टुंगो लगाउने गृहकार्यमा जुट्नुभएको छ ।
आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको तयारीमा लाग्नुभएको हो । प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउनका लागि छलफल शुरु गर्नुभएको छ ।
यी विषयमा छलफल गरेर सहमति जुटाउनका लागि प्रचण्डले मंगलबार बिहानैदेखि नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको छ । यस्तै प्रचण्डले सहमति जुटाउनकै लागि आज बस्ने भनिएको बैठक स्थगित गरेर खुमलटारमा पूर्व स्थायी समितिको बैठक पनि बोलाउनुभएको छ । बैठकमा केही केन्द्रीय सदस्य पनि सहभागी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड पोलिटब्यूरो र स्थायी समिति मात्रै टुंगो लगाएर पदाधिकारी प्रदेश र संघको चुनावपछि मात्रै फाइनल गर्ने पक्षमा लाग्नुभएको थियो । तर, पार्टी नेताहरुले जसरी पनि पदाधिकारी टुंगो लगाउनुपर्ने दबाब दिएपछि निकास निकाल्न जुट्नुभएको हो ।
माओवादीमा विशेषगरी महासचिव टुंगो लगाउने विषय पेचिलो बनेको छ । महासचिवमा नेता जनार्दन शर्मा र वर्षमान पुन प्रमुख दाबेदार मानिएका छन् । चौतर्फी विरोध आएपनि अर्थमन्त्रीबाट नहटाउनुको मुख्य उद्देश्य बर्षमानलाई महासचिव बनाउन रहेको केही नेताहरुको आंकलन छ ।
बर्षमान नै अहिलेको महासचिवका लागि बलियो रहेको माओवादीभित्र चर्चा चलिरहेको छ ।