काठमाडौं । माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्नुपर्ने तथ्य कारण आउनुपर्ने बताउनुभएको छ ।
त्यतिकै राजीनामा माग्न नहुने नेता गजुरेलको भनाइ छ । पछिल्लो समय आइरहेको सीसीटीभी फुटेज मेटिएको प्रकरणमा नेता गजुरेलले पार्टीको केन्द्रिय समिती बैठकमा व्यस्त भएका कारण बुझ्न नपाएकाले सबै कुरा बुझेर जानकारी लिएर मात्रै बोल्ने पनि बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले यो विषयमा सत्यतथ्य यथार्थ कुरा बाहिर आउनपर्ने र स्वयम् अर्थमन्त्री शर्माले स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘खास कुरो के हो तथ्यहरु यथार्थ बाहिर आउनुपर्यो, अहिले भइरहेको बहस त विभिन्न कोणबाट हुने गर्दछ, पुर्वाग्रहबाट पनि बहस हुन्छ, त्यसैले पहिला सत्य कुरा बुझ्न जरुरी छ ।’
प्रमुख प्रतिपक्षी दल एमाले, सरकारको नेतृत्व गरिरहेको कांग्रेस, नागरिक अगुवालगायत विभिन्न सरोकारवा र सामाजिक सञ्जालमा पनि यतिबेला अर्थमन्त्रीको चौतर्फि आलोचनाका साथ तत्काल राजीनामाको माग भइरहेको छ ।
कांग्रेस महामन्त्री गगन थापाले पनि राजीनामाको माग गरिरहेको विषयमा नेता गजुरेलले गगन थापाले सहि भन्नेबित्तिकै सहि भइहाल्ने कुरा नहुने स्पष्ट पार्नुभयो ।
बजेट जनमुखिनै रहेको दाबी गर्दै नेता गजुरेलले यो घटनाले ओझेल परेको र यथार्थ कुरा बाहिर आएपछि पार्टीले थप निर्णय गर्ने बताउनुभयो ।