काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएको छ ।
शनिबार मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।
‘सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका स-साना त्रुटिलाई दिएर बाहिर अनावश्यक हल्लाहरू फिजाइएका छन्,’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले भन्नुभयो,‘आज बसेको हाम्रो दलको बैठकले बजेट पास गर्ने निर्णय गर्दै सबै माननीयज्यूहरुलाई निर्देशन दिएको छ ।’ बजेटमा भएका सानातिना त्रुटि कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको मन्त्री धामीले बताउनुभयो ।
बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरूले बजेटमा त्रुटि भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटि सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताउनुभयो ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९-८० को बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरूले प्रदेशसभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन । अहिलेसम्म बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक स्थगित भइसकेको छ ।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकार फेरबदलबारे भइरहेको चर्चाका विषयमा समेत कुराकानी भएको थियो । तर गठबन्धनमा रहेका दलको शीर्ष नेतृत्वले टुङ्ग्याउने विषय भन्दै धेरै छलफल नभएको मन्त्री धामीले बताउनुभयो ।
बागमती प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको अवस्थामा सुदूरपश्चिम प्रदेश आफूलाई छाड्नुपर्ने एकीकृत समाजवादी पार्टीले माग राखेको स्रोतको भनाइ छ । यस्तो अवस्थामा यहाँ माओवादी केन्द्रले एकीकृत समाजवादी पार्टीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुनसक्ने चर्चा छ ।