काठमाडौं । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । उनको साधारण सदस्य भने कायमै रहने गरी निर्णय भएको छ ।
‘प्राप्त भएका सिफारिस, प्रमाण तथा दस्ताबेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भीर प्रकृतिको अनुशासनको उल्लङ्घन गरेको बैठकले ठहर गरेको छ’ पाठकले भन्नुभयो ।
पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिस तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्ताबेजहरूको अध्ययनपछि सो निर्णय गरेको उहाँको भनाइ छ ।
पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लङ्घन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
‘रिक्त रहेको पदमा पार्टी विधानको धारा ६८ को २ बमोजिम बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिएर पार्टी कामलाई अगाडि बढाउन कैलाली जिल्ला कमिटीलाई निर्देशन गर्ने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गरी जिल्ला अध्यक्ष चयन गरिने छ ।