काठमाडौं । सुदूरपश्चिमका संघीय सांसदहरूले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राखेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले प्रधानमन्त्रीलाई गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउनेबारे बुँदागत रुपमा ज्ञापन पत्रसमेत बुझाए । गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा अगाडि बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ ।
सांसद दीपकप्रकाश भट्टले गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाए सुदूरपश्चिमको स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउने बताउनुभयो । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, बयलपाटा अस्पताल र डडेलधुरामा रहेको संघीय अस्पतालका साथै अन्य जिल्ला अस्पतालहरुलाई समेत विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल संस्थानका रुपमा सञ्चालन गर्न सकेमा त्यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने ज्ञापनपत्रमा उल्लेख छ ।
सामाजिक अभियन्ता अभयराज जोशीले राज्यले मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापना गर्न सके त्यसले सुदूरपश्चिम मात्र नभई नेपालको स्वास्थ्य क्षेत्रमा नै ठूलो सुधार ल्याउने बताए। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउने कुरामा आफू सकारात्मक रहेको बताउनुभयो ।
उहाँले पहिला प्रतिष्ठान बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । ‘म तपाईँहरूले उठाएको विषयमा सकारात्मक छु। यसका विषयमा पहिले अध्ययन गरौँ,’ पहिले प्रतिष्ठानका रुपमा सुरु गरेर त्यसपछि अध्ययन गरी विश्वविद्यालयका रुपमा अघि बढाउनुपर्छ,’ देउवाको भनाइ थियो ।