काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गर्नुभएको छ ।
मंगलबार(आज) प्रतिनिधिसभाको बैठकमा खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद पौडेलले देशलाई ठुला, मझौला र साना योजना आवश्यक रहे पनि ती योजना कार्यान्वयन भयो कि भनेर अनुगमन गर्नुपर्ने संयन्त्र नभएको बताउनुभयो ।
उहाँले साना प्रकारका योजना स्थानीय तहलाई जिम्मा दिए पनि त्यसको कार्यान्वयन कसरी भएको छ भनेर अनुगमन नहुने बताउनुभयो । बजेट कहाँ कसरी गएको छ, कार्यान्वयन भएको छ कि छैन भनेर कुनै मतलब नराख्ने र सबैतिर अस्तव्यस्तको अवस्था रहेको उल्लेख गर्नुभयो । ठेक्का दिए पनि ठेकेदारले काम नगर्ने, विवादित ठेकेदारले ठेक्का पाउने गरेको गरेको, बजेट विनियोजन गरे पनि कार्यान्वयन नहुने भएकोले भौतिक पूर्वाधार मन्त्रालयको खर्च कटौती गर्न माग गर्नुभएको छ ।
उहाँले श्रम तथा रोजगार मन्त्रालयले बेरोजगार मात्र उत्पादन गर्ने भएकोले मन्त्रालयको नाम फेरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न सुझाव दिनुभयो । उहाँले युवालाई तालिम दिएर विकासमा सहभागी गराएर रोजगारी दिनुपर्नेमा बेरोजगार भएर विदेशमा पलायन भइरहेको बताउनुभयो ।