काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
शनिवार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो ।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताउनुभयो ।
यसैबिच लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।
बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीबारे विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।