काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर विसर्जन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ ।
उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनुभएको हो ।
त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उहाँले बताउनुभयो । मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।
त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गर्नुभएको छ ।
यता, स्थानीयले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्।