काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीसँग तालमेल गरैकै कारण माओवादी केन्द्र स्थानीय चुनावमा तेस्रो भएको बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आयोजित एक कार्यक्रममा कांग्रेसमा पनि दम्भ र अहंकार देखिए एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो, त्यसै सन्दर्भमा कुरा गर्दै नेता लेखकले कांग्रेससँगै सहकार्य गर्दा माओवादी चुनावमा तेस्रो बनेको दाबी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भन्नुभयो,“ कांग्रेससँग तालमेल गरेरै माओवादीले चुनावमा तेस्रो शक्तिकारुपमा चुनाव जितेको छ, या विषयलाई प्रचण्ड जीले बिर्सनुभएन नि ।”
उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर पहिलो सातामा गर्ने तयारी भइरहेको पनि बताउनुभएको छ ।
गठबन्धनको बैठकमा समेत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको उहाँले जानकारी दिनुभयो ।
नेता लेखकले भन्नुभयो,“निर्वाचनसमयमै हुनुपर्छ, त्यसैले सरकार समयमै निर्वाचन गराउने पक्षमा छ, सम्भवतः मंसिर पहिलो सातामै निर्वाचन हुन सक्छ ।”