काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनको परिणामलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली खुशी नरहेको दाबी गर्नुभएको छ ।
प्रचण्डले सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको दाबी गर्नुभएको हो ।
ओलीलाई लक्षित गर्दै दाहालले भन्नुभयो, 'मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।'
एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको दाहालको दाबी थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै दाहालले माओवादीलाई हल्का रूपमा नलिन आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचनपछि ओलीले आत्मसमीक्षा गर्ने ठानेको तर त्यसो नभएको दाहालको भनाइ थियो ।