काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्तर्गतको एउटै संसदीय समिति सदस्य हुनुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य हुनुभएको हो ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्तर्गत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हुनुभएको छ । सोही समितिमा यसअघि पहिलेदेखि नै नेकपा एसका अध्यक्ष नेपाल सदस्य रहेका छन् । अब हुने अन्तर्राष्ट्रिय समितिको बैठकमा सहभागिता जनाउँदा दुई अध्यक्ष एउटै बैठकमा सँगै हुनुहुनेछ ।
यसअघि आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले ९ महिना प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो ।
अध्यक्ष ओलीले २०७४ सालमा प्रतिनिधिसभाको चुनाव जितेपछि प्रधानमन्त्री भएका कारण कुनैपनि संसदीय समितिको सदस्य रहनुभएको थिएन् । यद्यपी उहाँ सबै संसदीय समितिको पदेन सदस्य भने रहनुभएको थियो ।
नेपाल सरकारका सबै मन्त्रीहरू संसदीय समितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ । राजनीतिक पार्टीको संसदीय दलले पठाएको विवरण अनुसार र सांसदहरूको छनौटअनुसार सभामुखले सांसदहरूलाई विभिन्न समितिका लागि छनौट गर्नुभएको हो ।