काठमाडौं । काठमाडौं महानगरको मतगणना सकिन लाग्दा राष्ट्रिय सभागृह अगाडिको माहोल गुलजार बनेको छ । झमझम वर्षातकाबीच बालेनका समर्थकहरू उत्साहका साथ नाराबाजी गरिरहेका छन् ।
अन्तिम मतपरिणाम नआउँदै बालेनको जित निश्चित भइसकेकाले समर्थकहरू उत्सव मनाउन हतारिएका छन् । तर मतपरिणाम आउन अझै केही घण्टा लाग्न सक्ने काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए । खतिवडाका अनुसार वडा नम्बर १५को करिब ४ सय मतको गणना अझै बाँकी छ ।
निर्वाचन आयोगले मतपरिणामबारे आजै माइकिङ भने गर्ने छैन । बालेन साहको समूहले माइकिङ गर्ने र बधाई दिने काम शुक्रवार बिहान गर्न आग्रह गरेका छन् ।
पानी परेको र रातको समय भएको हुँदा तत्काल विजय जुलुस निकाल्न नसकिने भन्दै बालेनको समयमाले शुक्रवार बिहान ८ बजे कार्यक्रम गर्ने र ११ बजेबाट जुलुस निकाल्ने तयारी गरेको छ ।