Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेस

नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेस

  • बिहिवार, जेठ १२ २०७९

  • 691
    SHARES

  • नीति तथा कार्यक्रममाथि ९१ बुँदामा संशोधन प्रस्ताव पेस
    काठमाडौं । संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेस गरेका छन् ।
     
    ६५ पृष्ठमा १४५ बुँदामा समेटिएका नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेस गरेका हुन् ।
     
    प्रमुख विपक्षी नेकपा एमालेका हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, भीमबहादुर रावल र खगराज अधिकारीले प्रतिनिधिसभामा संशोधन प्रस्ताव पेस गरेका छन् ।
     
    त्यस्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्तावको सूचना पेस गरेका छन् ।
     
    एमाले सांसद तामाङले प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नम्बर २३ मा कृषिमा आकर्षण दिन संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक छलफलमा ल्याई पारित गर्ने ब्यहोरा थप्न माग गरेका छन् ।
     
    नीति तथा कार्यक्रममाथि तीन बुँदामा संशोधन प्रस्ताव राखेका एमालेका सांसद अधिकारीले बुँदा नम्बर १३९ मा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट विदेशी फौज हटाउन तुरुन्त पहल गरिनेछ’ भन्ने ब्यहोरा थप्न माग गरेका छन् ।
     
    १९ बुँदामा संशोधन प्रस्ताव पेस गरेका नेमकिपाका सांसद सुवालले बुँदा नम्बर ३६ मा संशोधन प्रस्ताव पेस गर्दै अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको भूमि डुबानमा पर्ने गरी भारतले बनाएको सीमा बाँध र तटबन्ध भत्काउन आवश्यक कूटनीतिक र कानुनी पहल गर्ने कुरा थप गर्न प्रस्ताव गरेका छन् ।
     
    जनमोर्चाकी सांसद सांसद दुर्गा पौडेलले बुँदा नम्बर ७ संशोधन प्रस्ताव पेस गर्दै लिपुलेक लिम्पियाधुरा र कालापानीबाट भारतीय सेना फिर्ता गर्ने ब्यहोरा राख्नुपर्ने प्रस्ताव गरेकी छन् ।
     
    यसैगरी, राष्ट्रिय सभामा संशोधनका सूचना पेस गर्नेमा सांसदहरू हुन, नेकपा (एमाले) का सांसदहरू भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ र विमला घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह र राष्ट्रपतिबाट मनोनीत सांसद डा. विमला राई पौड्याल रहेका छन् । उनीहरूले १० बुँदामा संशोधनको सूचना पेस गरेका छन् ।
     
    डा.राई र पौडेलले बुँदा नम्बर २६ मा संशोधन प्रस्ताव पेस गर्दै प्राङ्गारिक मलमा अनुदानसहित सातै प्रदेशमा प्राङ्गारिक मल कारखाना खोलिने र रासायनिक मलमा अनुदान हटाई आपूर्ति सहज गरी प्राङ्गारिक मलमा अनुदान बढाउन माग गरेकी छन् ।
     
    सांसद सिंहले बुँदा नम्बर १०८ मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने भन्ने उल्लेख गरिएकोमा सोही बुँदामा सप्तरीको राजविराजमा पनि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने वाक्य थप गर्ने प्रस्ताव गरेका छन् ।
     
    एमालेका सांसदहरू न्यौपाने, श्रेष्ठ र घिमिरेले संयुक्त रूपमा पाँच बुँदा (१५, १७, ४३, ७२ र ७९) संशोधन प्रस्ताव पेस गरेका छन् ।
     
    उनीहरूले वित्तीय हस्तान्तरणको विषय विरोधाभासपूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी आएको, स्वच्छ खानेपानी उपलब्ध गराउने कुरा र बूढीगण्डकी आयोजना तथा सरकारले पूरा गर्नुपर्ने योजना निजी क्षेत्रलाई जिम्मा दिने कुरा सान्दर्भिक नभएको भन्दै संशोधन माग गरेका छन् ।


    बिहिवार, जेठ १२ २०७९०४:३०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij