काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावितद्वय राजदूत मिश्र र रायविरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताउनुभयो ।
समिति सभापति कर्णले सरकारद्वारा प्रस्तावितद्वय राजदूत मिश्र र रायविरुद्ध परेका उजुरीहरूको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताउनुभयो ।