काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सोचेअनुसार नतिजा नआएपनि गठबन्धन नटुट्ने बताएका छन् ।
उनले गठबन्धनप्रति पार्टी बढी नै आशावादी भएकाले पनि नतिजा सोचे अनुसार आउन नसकेको भन्दै गठबन्धन र आफ्नै पार्टीमा पनि यसबारे समीक्षा हुने बताए ।
उनले आगामी दिनमा आफ्नो पार्टी आफ्नै खुट्टामा उभिने गरी अघि बढ्ने भन्दै यो निर्वाचनमा गठबन्धन गरेकाले नै पोखरा महानगर जित्ने अवस्था आएको र हेटौडा उपमहानगर जितिसकेको बताए ।
‘एक महानगर र एक उपमहानगर हाम्रो पार्टीले जित्नु भनेको पनि गठबन्धनकै कारण हो, यो एउटा उपलब्धि नै मान्नुपर्छ’, अध्यक्ष नेपालको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगमनका पक्षधरहरु अझै सल्बलाइरहेकाले सत्ता गठबन्धन अर्को निर्वाचनसम्म लैजानु आवश्यक रहेको बताए ।
‘मुलुकमा सात दलीय दक्षिणपन्थी अर्को गठबन्धन पनि छ, त्यो अझै सल्बलाइरहेको छ । त्यसैले हाम्रो यो गठबन्धन देशको अग्रगतिका लागि आवस्यक छ’, अध्यक्ष नेपालको भनाइ छ ।