काठमाडौं- झापाको निर्वाचन क्षेत्र नमबर ५ का विभिन्न पालिका प्रमुखहरुमा एमाले पक्ष कमजोर देखिएको छ ।
प्रारम्भिक मत परिणामअनुसार यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये प्रमुख पदमा एउटामा मात्रै एमालेको अग्रता देखिएको छ । तीन पालिकामा भइरहेको मतगणनाअनुसार एमाले इतर पक्षले अग्रता लिएको देखिन्छ ।
दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा ५०९१ मतसहित अग्रस्थानमा छन् । एमालेकी गीता अधिकारीले ४४९५ मत प्राप्त गरेकी छिन् ।
कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका हुकुमसिंह राई मतगणनाको शुरुवातदेखि नै अग्रस्थानमा छन् ।
राईले ५३८६ मत ल्याउँदा एमालेका भीमप्रसाद राईले ४११९ मत प्राप्त गरेका छन् । एक्ला एक्लै चुनावी प्रतिस्पर्धा रहेको गौरीगञ्ज गाउपालिका अध्यक्षमा कांग्रेसकी फुलवती राजवंशीले ५३५ मत ल्याएकी छिन् । एमालेका विजय अग्रवालले ५०७ मत ल्याएका छन ।
अघिल्लो पटक गौरादह नगरप्रमुख जितेको कांग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म प्रगति गर्न सकेको छैन । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले ३१५१ मत ल्याउँदा कांग्रेसका रोहित साहले २९७४ मत ल्याएका छन् ।