काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रमणबहादुर थापाले अघिल्लो निर्वाचनमा गरिएका ९० प्रतिशत वाचा पूरा गरेको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) सँग कुरा गर्दै थापाले भन्नुभयो, “विकास भनेको लामो प्रक्रिया हो । चमत्कार भन्न मिल्दैन । तर हामीले विगत ५ वर्षसम्म गरेका कामबाट जनता खुसी छन् । हामीले वाचा गरेका ९० प्रतिशत पूरा गरेका छौं । अब अधुरा काम पूरा गर्न मौका दिनुपर्छ भनेर जनतामाझ गएका छौं ।”
उहाँले खररहित घरदेखि ढलरहित नगरको अभियान चलाएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “२०/२२ वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन थियो । दुई वर्ष कोरोनाले थलियो । यति हुँदाहुँदै पनि खररहित घर अभियान चलायौं । गरिब र विपन्न परिवार अहिले टिनको छानामुनि बस्न पाएका छन् । कालीगण्डकीको सभ्यता बचाउनका लागि ढलरहितको सहर अभियान चलाएका छौं । तालपोखरालगायत सयवटा पर्यटकीय गन्तव्य छनोट गरेका छौं । शीतभण्डारणको व्यवस्था गरेका छौं । घरेलु तथा मझौला उद्योग सञ्चालनका लागि बैंकको धितोमा युवाहरुलाई ३० लाखसम्मको ब्याज अनुदान दिएका छौं । कृषक क्रेडिट कार्डको व्यवस्था गरेका छौं । गौशाला निर्माण गरेका छौं । २० किलोमिटर सडक कालोपत्रे गरेका छौं, सयौं किमी सडक विस्तार गरेका छौं । खेल मैदान, ज्येष्ठ ग्राम, नगर बस सञ्चालन भएको छ । त्यसैले रामपुरमा नेपाली कांग्रेसको विकल्प छैन ।”
आफ्नो पार्टीलाई गठबन्धन दलहरुको पनि नैतिक र राजनीतिक समर्थन रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो उम्मेदवारीलाई ५ दलको नैतिक र राजनीतिक समर्थन छ । एक वडामा जनमोर्चासँग सहकार्य गरेका छौं । पहिले भन्दा धेरै मत ल्याएर विजय बन्छौं । जनता रुख चिह्नमा मत गर्न आतुर छन् ।”