काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकालगायत यतिबेला देशैभर चुनावी प्रचारप्रसारको रन्को छ ।
सबै उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउनका निम्ति तल्लीन छन् । यसै क्रममा आइतबार काठमाडौंमा एमाले मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ ।
सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरुबीच जम्काभेट भएको हो । एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् ।
भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार गालामा एमालेको सूर्य चिह्न बनाएका केही एमालेका कार्यकर्ताले बालेनसँग सेल्फी पनि खिचाउन भ्याए । बालेन भेटिएपछि स्थापित तस्बिर खिच्न अगाडि सरेका थिए ।
भेट नहुनु अघि स्थापितले बालेनमाथि विभिन्न आरोप लगाउँदै आएका थिए ।