काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्नुपर्ने मागसहितको चुनावी घोषणापत्र ल्याएको छ । आज बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा वितरण गरिएको प्रेस वक्तव्यमा घोषणापत्रबारे भनिएको छ, “राष्ट्रिय जनमोर्चाले २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मूल नारा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ तय गरेको छ । संघीयता खारेज गरौँ भन्ने मूल नाराअन्तर्गत राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।”
अध्यक्ष केसीले घोषणापत्र सार्वजनिक गर्दै नेपालमा सङ्घीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए । केसीले संघीयताका कारण नेपालमाथि दिन प्रतिदिन आर्थिक बोझ थपिँदै गएकोले संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताए ।
संघीयताकै कारण २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि र नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै खतरा रहेको औँल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने उनले बताए ।
स्थानीय तह नै जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसलाई बलियो बनाउनुपर्ने उनको भनाई छ ।
नेता केसीले स्थानीय तहलाई कमजोर गरेर प्रदेशलाई बलियो बनाउने प्रवृत्ति बढेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहको अधिकार तथा जनताका स्थानीय स्वशासनको अधिकारलाई सुनिश्चित गर्नुपर्ने र त्यसो गर्दा अहिलेको आर्थिक भार पनि घट्ने उनले बताए ।
केसीले एमसीसीलाई संसदबाट पारित गरिएका कारण आफ्नो पार्टी पाँच दलीय गठबन्धनबाट अलग हुनु परेको भन्दै स्थानीय निर्वाचनमा भने पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको बताए ।


