काठमाडौं । ललितपुरको बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।
आइतबार बिहान साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटरसाइकल दुर्घटना भएर एक जना प्रहरी जवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए।
बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा धादिङ घर भएका ३१ वर्षीय चालक नवीन न्यौपाने छन्। उनीसँगै मोटरसाइकलमा सवार अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन्। उनको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ।
उनीहरू दुबै जना महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान हुन्।
‘उनीहरू बल्खुबाट फर्किनेक्रममा चिप्लिएर सडकमा राखिएको बल्कमा ठोक्कियो। पछि फेरि पोलमा ठोक्किएको देखिन्छ,’ शाहले भने, ‘आफै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ।’
उनका अनुसार राति ड्युटी सकेर प्रहरी जवानद्वय सातदोबाटो फर्किँदै थिए। त्यसैक्रममा दुर्घटना भएको हो।