काठमाडौँ – केही साताअघि कोरोना महामारी रोकथामका लागि सरकारले गरेका प्रयासहरु नदेख्ने नेपालीहरुलाई मोतियाबिन्दु लागेको अभिव्यक्ति दिनुभएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज फेरि सरकारको आलोचना गर्नेहरुको मति भ्रष्ट भएको टिप्पणी गर्नुभएको छ।
यति मात्रै होइन आज परेको कृष्णजन्माष्टमी पर्वका अवसरमा मन्त्री ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना पनि दिनुभएको छ । काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लड्न मति सप्रियोस भन्दै शुभकामना दिनुभएको हो ।
कोरोना महामारीविरुद्ध सरकारले गरेका प्रयासहरु प्रभावकारी नभएको भन्दै अहिले आलोचना भइरहेको छ । महामारी रोकथाममा लाग्नुको साटो सत्तारुढ दल भित्रै सत्ताका लागि लुछाचुडी मच्चिएको छ । यस्तो अवस्थामा सरकारको आलोचना आम नागरिकसँगै विपक्षी दलहरुले पनि गरिरहेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले त सरकारले अब महामारीबाट जनतालाई जोगाउन नसक्ने भन्दै आफ्नो सुरक्षा आफै गर्न नागरिकहरुलाई अपील गरिसकेको छ ।
कांग्रेसको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको छ । समितिका संयोजक डा. प्रकाश शरण महतले सरकारले सुरक्षीत गर्छ भन्ने सोचेर नबस्न सोमबार पत्रकार सम्मेलन गरेर आग्रह गर्नुभएको थियो ।
तर सरकारले भने कोरोना महामारी रोक्न भइरहेका प्रयासहरु पर्याप्त नरहेको कुरा सुन्नै नचाहेको आभाष स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्तिले दिएको छ । विपक्षी आलोचकहरुलाई मति बिग्रेको भन्दै छुद्र टिप्पणी गर्नुभएका मन्त्री ढकालले आफ्नै पार्टीभित्रका नेताहरुप्रति पनि आक्रोश पोख्नुभएको छ । उहाँले स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्नेहरुले जनताकाबीच परीक्षा दिनैपर्ने बताउनुभयो ।
नागरिकको जिउधनको सुरक्षाका लागि महामारीविरुद्ध अधिकतम प्रयास नगरेको सरकारले बरु स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेका विषयहरु बाहिर आएपछि विपक्षी मात्रै होइन सत्तारुढ दलभित्रैबाट सरकारका आलोचकहरु बढेका छन् । सत्तारुढ दलका नेपाल कम्युनिष्ट पार्टी नेकापका एक प्रभावशाली नेता रघुजि पन्तले महामारी रोकथामका लागि सरकारले गरेका प्रयासहरु निरर्थक रहेका बताउनुभयो ।
उहाँले स्वास्थ्य सामग्री खरिदमा फेरि पनि करोडौँको भ्रष्टाचार भइरहेको विषय बाहिर आएकोले त्यसमा छानबिन हुनुपर्ने माग गर्नुभयो । नेता पन्तले अस्पताल चहार्दा चहार्दै उपचार नपाएर बिरामीको मृत्यु भइरहेको भन्दा विडम्वनापूर्ण अवस्था अर्काे हुन नसक्ने भन्दै आलोचकहरुको मति बिग्रेको स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्तिको प्रतिवाद गर्नुभयो ।
सरकारले कोरोना महामारी नियन्त्रणमै रहेको दाबी गरिरहे पनि पछिल्लो चौबिस घण्टामा झण्डै साढे ६ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या ८३ पुगिसकेको छ ।
दिनदिनै संक्रमितको संख्यासँगै मृत्युदर बढिरहेका बेला महामारी नियन्त्रणका लागि अबको योजना के हो भन्नेमा सरकार आफै प्रष्ट छैन । विज्ञहरुले कडा खालको लकडाउन महामारी रोक्ने एक मात्रै विकल्प भने पनि सरकारले लकडाउनको निर्णयमा पनि ढुलमुले चरित्र देखाएको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाको यो भनाईले देखाउँछ ।
कोरोना महामारीको संकटका बेला पनि स्वास्थ्य सामग्री खरिदमा करोडौँ भ्रष्टाचार भएको विषय जगजाहेर छ । तर यसका दोषीहरुलाई कारबाही गर्न सरकारले कुनै चासो देखाएको छैन । गणतन्त्रका शासकहरु अब त सरकारको काम प्रभावकारी भएन भन्दै आलोचना गर्नेहरुलाई चुप लाग्न ठाडो चेतावनी दिइरहेका छन् । जुन लोकतान्त्रिक शासन पद्धति भएको मुलुकका लागि अत्यन्त लज्जाजनक अवस्था हो ।