Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाले सुरु गर्यो मृत्यु श्रृङ्खला!

नेपालमा कोरोनाले सुरु गर्यो मृत्यु श्रृङ्खला!

  • सोमवार, श्रावण २६ २०७७

  • 1.3K
    SHARES

  • नेपालमा कोरोनाले सुरु गर्यो मृत्यु श्रृङ्खला!

    काठमाडौँ – नेपालमा कोराना भाइरसको संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो चौबिस घण्टामा मात्रै कोरोना संक्रमणका कारण थप चारजनाको मृत्यु भएको छ । दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुईजनाको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

    यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुकोे संख्या ८० पुगेको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्न थालेपछि जनजीवन आतंकित बनेको छ ।

    सरकारले साउन ६ गते मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको थियो । तर लकडाउन अन्त्य भएको घोषणापछि लक्षणसहितका संक्रमितको संख्या बढ्नुका साथै मृत्युदर पनि बढेको पाइएको छ । विज्ञहरुले कर संकलन गर्नका लागि लकडाउन अन्त्य गरेर सरकारले आम नागरिकको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् । वरिष्ठ चिकित्सक डा. भोला रिजालले सरकारले करको लोभमा लकडाउन खुकुलो बनाएको टिप्पणी गर्नुभयो ।

    यस्तै कोरोना भाइरस नियन्त्रणका लागि सरकारले कुनै काम गर्न नसकेको प्रमुख विपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन आग्रह गरेको हो ।

    पार्टीको कोभिड—१९ सम्बन्धि अनुगमन समितिले कोरोना नियन्त्रणमा सरकारी संयन्त्रहरु पूर्ण रुपमा असफल भएकाले जनतालाई आफै सुरक्षित रहन आग्रह गरेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक प्रकाशशरण महतले सरकारले सुरक्षित गर्छ भन्ने सोचेर नबस्न सबैमा आग्रह गर्नुभयो ।

    कांग्रेसले कोरोना महामारी नियन्त्रणका लागि राज्यले सरकारी संयन्त्रहरुको सही परिचालन गर्न नसकेको आरोप एकातिर लगाएको छ भने अर्काेतिर निजी क्षेत्रसँग पनि समन्वय गर्न नसकेको आरोप लगाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि केन्द्र सरकारको असहयोगका कारण कोरोना रोकथाममा निजी अस्पतालहरुलाई प्रयोग गर्न नसकिएको बताउनुभयो ।

    उहाँले कोरोना नियन्त्रणका लागि आफूलाई केन्द्र सरकारदेखि स्थानीय प्रशासनसम्मले पर्याप्त सहयोग नगरेको आरोप लगाउनुभयो । आफूले सबै निकाय तथा कार्यालयहरुलाई बजेट पठाउने, काम गर्न लगाउने, छलफल गर्ने, सम्पर्क गर्नेलगायतका प्रयासहरु गरेपनि अरुले बेवास्ता गरिरहेको उहाँको भनाइ छ । उहाँले नीजि मेडिकल कलेजहरुका विरुद्धमा पनि आक्रोश पोख्नुभयो ।

    यसैबीच काठमाडौँ उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकालाई सिल नगरे अवस्था भयावह हुने देखिएको काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

    कोरोना संक्रमणका कारण काठमाडौँ उपत्यकामा एकैदिन तीनजनाको मृत्यु भएको छ । यसले पनि काठमाडौँ उपत्यकामा गम्भीर खतराको घण्टी बजेको देखाएको छ । प्रदेश नम्बर दुईको वीरगञ्जमा पनि कोरोना संक्रमणका कारण निधनको श्रृंखला रोकिएको छैन । यो बेला बढी प्रभावित क्षेत्रहरुमा पूर्ण रुपमा लकडाउन अथवा निषेधाज्ञा गर्न विज्ञहरुले सुझा दिएका छन् । तर सरकार अर्थतन्त्र धान्न नसकिने भन्दै पूर्ण लकडाउनको विपक्षमा उभिँदा नागरिकहरुको जीवन संकटमा परेको छ ।


    सोमवार, श्रावण २६ २०७७०७:४१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij