Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सभामुखलाई हटाउने सर्तमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति जुट्दै, बानेश्वरमा काँडेतार

सभामुखलाई हटाउने सर्तमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति जुट्दै, बानेश्वरमा काँडेतार

  • बुधवार, फाल्गुण ११ २०७८

  • 4.8K
    SHARES

  • सभामुखलाई हटाउने सर्तमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति जुट्दै, बानेश्वरमा काँडेतार

    काठमाडौँ – सभामुख अग्नि सापकोटालाई हटाउने सर्तमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणमा सहमति जुटाउने प्रयास भइरहेको छ । कांग्रेस र एमालेको शीर्ष तहमा यस्तो सहमति जुट्ने सम्भावना निकै बलियो बनेर गएको दाबी विश्वस्त श्रोतले गरेको छ ।

    अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि सत्ताधारी दल माओवादी केन्द्र र नेकपा एस तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले वैकल्पिक गठबन्धनको खोजी गर्नुभएको हो । यसक्रममा सभामुखलाई हटाउन कांग्रेस तयार भए आफूले साथ दिने एमालेले बताएको छ ।

    यसमा सहमति जुटाउन दुवै पार्टीका शीर्ष नेताहरुबीच चरण चरणमा वार्ताहरु भइरहेका छन् । कांग्रेस र एमालेबीच सभामुख हटाउनेसम्मको कसरत तीव्र भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आजको अभिव्यक्तिबाट पनि पटाक्षेप हुन्छ ।

    अध्यक्ष प्रचण्डले आज सभामुखलाई हटाउन कांग्रेस पनि तयार भएपछि बाध्य भएर एमसीसी सदनमा टेबल हुन दिएको खुलासा गर्नुभयो । गठबन्धन भत्काउन अनेकन् षड्यन्त्र भइरहेको उहाँको आरोप छ ।

    आज बिहान मात्रै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगर्ने हो भने गठबन्धन कायम नरहने सन्देश गृहमन्त्री बालकृष्ण खाँणमार्फत अध्यक्ष प्रचण्डलाई दिइसक्नुभएको छ । प्रधानमन्त्रीको दूतका रुपमा गृहमन्त्री खाँणले प्रचण्डपछि एमाले अध्यक्ष ओलीसँग पनि लगत्तै वार्ता गर्नुभएको थियो ।

    सो भेटमा पनि एमाले अध्यक्ष ओलीले सभामुखबाट सापकोटालाई ‘पदअनुकूल आचरण नगरेको’ भनी हटाउन कांग्रेस सहमत भएमा एमालेले संसद् अवरोध हटाएर एमसीसी पास गर्न सघाउने आश्वासन दिएको श्रोतकोे दाबी छ ।

    एमालेको यो प्रस्तावलाई कांग्रेसले गम्भीर रुपमा विचार गरिरहेको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन् । यता नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई अमेरिकी दबाब थेग्न नसकेको आरोप लगाउनुभएको छ । अमेरिकी दबाब थेग्न नसकेको भएर नै प्रधानमन्त्रीले एमसीसी पास गर्न मरिहत्ते गरिरहेको खनालको आरोप छ ।

    यसैबीच संघीय संसद्को भोलिको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।

    बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
    सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भोलिको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुका लागि ह्वीप जारी गरेको छ । सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गर्दै संसद भवन बाहिरको सडकमा काँडेतार लगाइएको छ ।


    बुधवार, फाल्गुण ११ २०७८०७:३८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij