काठमाडौँ – नेपालमा कोरोनाभाइरस संक्रमण भयावह अवस्थामा पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको छ ।
कूल २२ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो तथ्यांकअनुसार संक्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ ।
दोस्रो लहरमा उत्कर्षमा पुग्दा संक्रमणदर ५१ प्रतिशतको हाराहारीमा पुगेको थियो । तेस्रो लहरमा आजदेखि संक्रमणदर उत्कर्षमा पुग्ने चरणमा गएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
केही हप्ता अझै संक्रमण बढ्ने उहाँले बताउनुभयो । ओमिक्रोन छिटो फैलिने भएका कारण भेला, सभा, सम्मेलन र जुलुसले संक्रमण फैलिन मलजल गरेको उहाँ बताउनुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोनाको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएकाले अबको दुई साता कठिन हुने निष्कर्ष निकालेको छ । आजको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले अबको दुई साता संक्रमण बढ्दै जाने बताउनुभएको थियो ।
उहाँका अनुसार उच्च बिन्दुमा पुग्दा दैनिक २० हजार संक्रमण पुष्टि हुने आँकलन गरिएको छ । संक्रमण तीव्र गतिमा फैलिए पनि लकडाउन गर्ने पक्षमा भने सरकार छैन । सरुवा रोग विशेषज्ञ डा. पुनले पनि संक्रमण घरघरै पुगिसकेकोले अब लकडाउन आवश्यक नरहने बताउनुभयो ।
अबको दुई सातापछि क्रमशः नपालमा ंक्रमण ओरोला लाग्ने अनुमान डा. पुनको छ । तेस्रो लहरमा विश्वभरको तथ्यांक हेर्दा दुई साता उच्चदरमा संक्रमण बढ्ने र त्यसपछि क्रमशः ओरोलो लाग्ने क्रम देखिएको उहाँले बताउनुभयो ।
यसैबीच शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न कोभिडविरुद्धको खोप अनिवार्य रहेको निष्कर्ष निकाल्दै सबै नागरिकलाई त्यसको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । समितिले कोरोना खोप लगाउने ठाउँमा समेत भीडभाड देखिएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि सरकारलाई भनेको छ ।