काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । एक–दुई दिनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने र त्यसको तयारी भइरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गर्नुभएको थीयो । प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रका नाममा सम्बोधन गर्ने प्रचलन रहिआएको छ ।
तर पाँचौ पटक मुलुकको प्रधानमन्त्री बन्नुभएका देउवाले सरकार गठनको ६ महिनासम्म पनि राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छैन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् सरकारका ६ महिनाका उपलब्धी सार्वजनिक गरिने बताउनुभएको छ ।