काठमाडौं । सैन्य दृष्टिकोणले महत्वपूर्ण रहेको दार्चुला–तिंकर सडकखण्डको हाल पाइलट ट्रयाक खोल्ने काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
२४ वैशाख ०७७ मा मन्त्रिपरिषद्को बैठकले दार्चुला तिंकर भञ्जाङको सडकखण्ड निर्माण कार्यको जिम्मा नेपाली सेनालाई सुम्पेको थियो । जसअनुरूप यस आर्थिक वर्ष ०७८र०७९ मा ७ किलोमिटर पाइलट ट्रयाक खोल्ने लक्ष्य सेनाले लिएको छ ।
यसै क्रममा १।२५ किलोमिटर ट्रयाक खोलेर प्रगति हासिल गरेको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बाह्रखरीलाई जानकारी दिए ।
भूबनोट कठिन भएकाले सेनाले ट्रयाक खोल्न विस्फोटक पदार्थको प्रयोग गरेको छ ।
यस्तै, सेनाले छाङरुमा तेस्रो अस्थायी क्याम्प स्थापना गर्ने योजना राखेको छ । फागुनको मसान्तबाट क्याम्प निर्माण कार्य सुरु हुने उनले बताए । उक्त सडकखण्डको निर्माणका लागि यस वर्ष सरकारले २२ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्ष ०७७र०७८ बाट सेनाले आयोजनाको निर्माण कार्य सुरु गरेको थियो । जसमा सडक खण्डको डीपीआर तयार पार्ने र सुन्सेरा र दुम्लिङमा १–१ वटा अस्थायी क्याम्प निर्माण कार्य सम्पन्न भएको छ । यसका लागि ६ करोड ५० लाखको बजेट सेनाले पाएको थियो । दुवै क्याम्पमा एक सय जना रहेको सेनाको टोली खटिएर काम भएकोले उनले बताए ।
सरकारले ८५ किलोमिटरको सडकखण्ड बनाउने जिम्मा दिएपनि सर्भे गर्दा घटेर ७४।२२ किलोमिटर लम्बाई बनेको छ । सुन्सेरा जुन दार्चुलाबाट ४० किलोमिटर पर छ । त्यहाँबाट ३ किलोमिटर पर पहिलो क्याप सेनाले निर्माण गरिसकेको छ । यसैगरी, त्यहाँबाट ४ किमीको दुरीमा रहेको कोठेधार जुन ८७ किलोमिटरको सुरुवाती विन्दु हो । कोठेधारको १८ किमी पर दुम्लिङमा अर्को क्याम्प स्थापना गरिएको हो । जस्तापाता र सिमेन्ट प्रयोग गरेर बनाएका यी क्याम्प अस्थायी संरचना हुन् ।
०६५ मै दार्चुला सदरमुकाम खंलगादेखि तिंकर नाकासम्म सडक पुर्याउने लक्ष्य सरकारले लिएको थियो । तर, एक दशक बित्दा पनि ४० किमी मात्रै ट्रयाक खोलिएपछि सरकारले सेनालाई जिम्मेवारी सुम्पेको हो ।
मोटर बाटो नभएको तिंकरजस्तो दुर्मम क्षेत्रलाई जोड्न उक्त सडकखण्डको निर्माण महत्वपूर्ण मानिन्छ । सैनिक रणनीतिको हिसाबले पनि महत्वपूर्ण मानिएको सो सडकखण्ड भारतसँग सीमा विवादमा परेका दार्चुलाका माथिल्ला भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भने समेट्दैन ।
भारतले नयाँ नक्सा जारी गर्दै लिपुलेक, कालापनी र लिम्पियाधुरा आफ्नो भूभागमा देखाएको थियो भने लिपुलेकमा सडक निर्माणसमेत गरेर उद्घाटन गरेको थियो । त्यसैको जवाफमा नेपालले पश्चिमी सीमा दार्चुला तिंकर सडकखण्ड निर्माण गत वर्षबाट सुरु गरेको हो ।