काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी केन्द्रीय कमिटीका सदस्यहरूले चयन गर्ने भएका छन्।
माओवादीको आठौं महाधिवेशन आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेर सकिएको थियो।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नुभएको थियो भने उक्त प्रस्ताव अनुमोदन गरिएको थियो।
प्रचण्डले खुल्लातर्फ १३२ र सामानुपातिकतर्फ १२५ जनाको नाम पेश गरेका थिए। उक्त नाम महाधिवेशन प्रतिनिधिहरूले पारित गरेका थिए।
अब पदाधिकारीय चयन गर्न बाँकी छ। केन्द्रीय सदस्य कृष्णबहादुर महराका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गरिनेछ।
महाधिवेशनले पदाधिकारी चयन गरेको थिएन। पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिइएको थियो। पार्टीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहनेछन्।
माओवादीले सहमतिकै आधारमा पदाधिकारी चयन गर्ने नभए निर्वाचनमा जान सकिने बताइरहेको छ। पुस ११ देखि काठमाडौंमा सुरु भएको महाधिवेशन आइतबार नयाँ केन्द्रीय सदस्य घोषणा गर्दै सकिएको हो।
सैद्धान्तिक र नेतृत्व चयनमा नयाँपनबिनै महाधिवेशन औपचारिकतामा सीमित हुन पुगेको छ। अध्यक्ष पुष्पकमल दाहालले पुस १२ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टी र मुलुकलाई दिशानिर्देश गर्नेभन्दा पनि औपचारिकता निर्वाह गरिएको छ।
उक्त प्रतिवेदनमाथि सुझाव र फरक मत प्रकट भए पनि दाहालकै प्रतिवेदन बन्दसत्रबाट सर्वसम्मत पारित भयो। माओवादीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउँदै आए पनि जनवादी केन्द्रीयताको अभ्यास गर्दै नयाँ कमिटी घोषणा भएको होे।
केन्द्रीय कमिटी गठनमा लोकतान्त्रिक अभ्यास हुनसक्ने बताइए पनि अन्तिममा दाहालको प्रस्तावलाई नै बन्दसत्रले अनुमोदन गरेको छ। बाँकी करिब १५ प्रतिशत केन्द्रीय सदस्यको नाम भने अझै टुंगिएको छैन। त्यसलाई पनि छिटै टुंग्याउने दाहालले बताएका छन्।
केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै दाहालले बन्दसत्रमा सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने आफ्नो प्रतिबद्धतालाई जसोतसो पार लगाएको बताएका छन्।