काठमाडौँ – एकीकरण जोगिएको हुँदो हो त अहिले एमाले र माओवादीले पार्टीका अलग–अलग महाधिवेशन गर्नुपर्ने थिएन । तर जनताले समेत अनुमोदन गरिसकेको एकता जोगाउन नसकेका यी दुई पार्टीमध्ये एमालेले महाधिवेशन सकिसकेको छ भने माओवादी केन्द्रको अन्तिम चरणमा छ ।
झण्डै तीन वर्ष एउटै पार्टीमा रहेर त्यसपछि फुटेका यी दुई पार्टीका नेताहरु अहिले एक अर्कालाई राजनीतिक दुस्मनका रुपमा चित्रण गरिरहेका छन् ।
माओवादीले एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएको थियो भने अहिले एमालेका नेताहरु माओवादीको महाधिवेशनप्रति पनि उस्तै शब्द खर्चिरहेका छन् ।
युद्धको पृष्ठभूमिबाट मुलधारको राजनीतिमा आएको माओवादी अहिले कम्युनिष्ट र सर्वहाराको नाममा पुँजीवादतर्फ उन्मुख रहको एमालेको विश्लेषण छ ।
माओवादीमा अनावश्यक तडकभडक र व्यक्तिवादी प्रवृत्ति युद्धकालीन समयदेखि नै देखिँदै आएको र अहिले झन् मौलाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईको ठहर छ ।
एमालेबाट टुक्रिएको एकीकृत समाजवादी र माओवादी लगायत दलका नेताहरुले एमाले नाम मात्रको कम्युनिष्ट भएको टिप्पणी गर्दैगर्दा माओवादीलाई पनि उस्तै आरोप लागेको हो ।
विगत ३५ वर्षदेखि नेतृत्वमा रहेका प्रचण्डले पार्टीमा आफूलाई चुनौती दिने कोही नेताको उदय भए बहिर्गमित हुनुपर्ने अवस्थामा पु¥याउने गरेको भट्टराई बताउनुहुन्छ । यो प्रवृत्ति हाबी भएकै कारण माओवादीको ओरालो यात्रा सुरु भएको र अब बिलिन हुने अवस्थामा पुगिसकेको उहाँ बताउनुहुन्छ ।
हुन त पूर्वमाओवादीको एक ठूलो तप्का अहिले एमालमा विलय भएको छ । जनयुद्ध हाँकेका नेताहरु जनयुद्धको नामै सुन्न नचाहने केपी ओलीको छहारीमा ओत लागेका छन् ।
एमाले नेताहरुको दाबी पत्याउने हो भने माओवादी छाडेर अझै पनि नेताहरुको ठूलो समूह एमाले प्रवेश गर्ने चरणमा छ । प्रचण्डसँग सहकार्य गर्न नसक्दा नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु ठूलो पीडा बोकेर माओवादी केन्द्रमा बसिरहेको एमाले प्रमुख सचेतक भट्टराईको जिकिर छ ।
कतिपयले माओवादी र एमालेबीच फेरि पनि चुनावी सहकार्यको सम्भावना देखेका बेला भट्टराई त्यो सम्भावनाको मृत्यु भैनसकेको बताउनुहुन्छ । राजनीतिमा असम्भव केही नहुने भए पनि प्रचण्ड अहिले उल्टो बाटोमा हिँडिरहेको उहाँले बताउनुभयो ।
एमालेले माओवादी केन्द्रमा प्रचण्ड प्रवृत्ति हाबी भएको टिप्पणी गरिरहँदा जारी महाधिवेशनमा माओवादीकै नेताहरुले पनि प्रचण्डको खरो आलोचना गरेका छन् । नेता लेखनाथ न्यौपानेले माओवादीमा पनि एमालेको जस्तै ‘बा प्रवृत्ति’ हुर्कन थालेको भन्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनमा फरक मत राख्नुभएको छ ।
पार्टी भित्रै र बाहिरबाट पनि खरो आलोचनाकाबीच प्रचण्डले माओवादीभित्र ‘गाउँ फर्क’ अभियान चलाउने तयारी गरिरहनुभएको छ ।