काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिनुभएको छ । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् ।
आज विराटनगरमा पुग्नुभएका ओलीले पत्रकारहरूसँग यस्तो बताउनुभएको हो । आफूहरूले पार्टीबाट ’निष्कासन गरेका मान्छेहरू’लाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीको जिकिर छ ।
कुराकानीको क्रममा अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उहाले भन्नुभयो, ‘इलेक्सन भएपछि धोपीपाट लगाइन्छ ।’
यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको ओलीको भनाइ थियो । ‘सरकारले एमसीसीको बारेमा आफ्नो नीति बताउन सकेको छैन । व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेको छ र गठबन्धनको सरकार भएपछि गठबन्धनको एउटा धारणा त आउनुपर्छ नि !’ अध्यक्ष ओलीले भन्नुभयो ।
गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आआफ्ना छुट्टै नीति भएकोले अन्योल बनेको उहाको धारणा थियो । तर एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने उहाले बताउनुभयो ।
जसपाबाट निर्वाचित जहदा गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुग्नुभएको हो । ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने बताउनुभएको थियो ।