काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्न थालेपछि सत्तारुढ दलका नेताहरुले आक्रोश पोखेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालले एमालेले संसद अवरोध गरेर राष्ट्रलाई अराजकताको खाडलतर्फ धकेलेको टिप्पणी गर्नुभयो ।
आजको संसद बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै खनालले एमालेको अवरोधलाई ‘मुर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिनुभयो । प्रतिपक्षी पार्टीको नेतृत्व धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त भएको उहाँको आरोप छ ।
यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमालेलाई अब जनताले दण्डित गर्न मात्रै बाँकी रहको बताउनुभयो ।
एमालेले अब पनि संसदमा अवरोध कायमै राखे आगामी चुनावमा जनताले दण्डित गर्ने उहाँले बताउनुभयो । संसद विघटनको आफ्नो कदम सही थियो भन्ने पुष्टि गराउन एमाले अध्यक्ष ओलीले सदनमा अवरोध गरिरहेको उहाँको आरोप छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लगातारको संसद अवरोधको निन्दा गर्नुभयो । उहाँले संसद अवरोध गरेर जनताका आवाज थुन्ने प्रयास नगर्न आग्रह गर्नुभयो ।
सभामुख सरकार र प्रमुख विपक्षी एमालेबीच सदन सुचारका लागि सहमति हुनुपर्ने उहाँले बताउनुभयो ।
यता सभामुख अग्नि सापकोटाले संसद अवरुद्ध नगर्न प्रतिपक्षी दल एमालेलाई फेरि पनि आग्रह गर्नुभएको छ । जनताका आवाज मुखरित गर्ने जनताको सर्वोच्च जनप्रतिनिधिसभा अवरुद्ध नगर्न उहाँले पटक–पटक आग्रह गरे पनि एमालेले आजकौ बैठकमा पनि अवरोध कायमै राख्यो ।
गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकोमा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।