काठमाडौं – १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने क्षणसम्म आइपुग्दा नेपाली कांग्रेसको आन्तरिक शक्ति समीकरणमा व्यापक फेरबदल भएको छ । टिममा नपरेपछि पदाधिकारीका आकांक्षीहरूले दुवै समूहबाट विद्रोह गर्दा शक्ति समीकरण बदलिएको हो ।
संस्थापन समूहबाट विमलेन्द्र निधीसहित चर्चित युवा नेता विश्वप्रकाश शर्माले विद्रोह गरेका छन् भने डा. नारायण खड्का लगायतका नेताहरू राजनीतिक प्रतिस्पर्धाबाट अलग भएका छन् ।
संस्थापनइतर समूहमा पनि सभापतिको साझा उम्मेदवार बन्ने अथक प्रयास सफल नहुँदा टिम तितरवितर भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पीडावोध भएको भन्दै राजनीतिक प्रतिस्पर्धामा नरहने घोषणा गर्नुभएको छ ।
यो समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी दिएका छन् । यद्यपि शेखरको टिमलाई पौडेल समूहले आधिकारिक भनेको छ । पौडेल समूहले टिममा नपारेपछि सुजाता कोइरालाले प्रकाशमानको टिमबाट उपसभापतिमा उम्मेदवारी दिएसँगै वंशविरासत बोकेको कोइराला परिवार समेत फुटेको छ ।
यस्तै संस्थापनबाट महामन्त्री नपाएका विश्वप्रकाश शर्माका लागि पौडेल समूहले पनि स्थान खाली नगर्दा अन्ततः उहाँ प्रकाशमानको टिमबाट महामन्त्रीको उम्मेदवार बन्नुभयो । उम्मेदवारी दर्ताको क्षणसम्म आइपुग्दा कांग्रेसमा विकसित समीकरणले अन्ततः बहालवाला सभापति शेरबहादुर देउवालाई नै फाइदा पुग्ने प्रक्षेपण भइरहेको छ ।
राजनीतिक विश्लेषक लोकराज बरालले पौडेल समूहसँगै कोइराला परिवारमा पनि आएको विभाजनले देउवालाई निकै फाइदा पुग्ने बताउनुभयो । विमलेन्द्र निधिको उम्मेदवारीले नतिजामा खासै फरक नपार्ने दाबी गर्दै उहाँले इतरसमूहबाट सिंह र कोइराला दुवै उम्मेदवार भए देउवो पहिलो चरणमै बाजी मार्ने दाबी गर्नुभयो ।
अर्का राजनीतिक विश्लेषक सुरेन्द्र केसीको पनि बरालको भन्दा फरक मत छैन । इतर समूह एकजुट हुन नसकेको फाइदा संस्थापनले उठाउने आशय उहाँले पनि व्यक्त गर्नुभयो । पौडेल समूह फुट्नु र देउवाले सिटौलाको साथ पाउनुले परिणामलाई असर पार्ने उहाँले बताउनुभयो । तर राप्रपाको निर्वाचनमा देखिएको जस्तै गरी क्रान्तिकारी धारले नयाँ नेतृत्वका लागि हस्तक्षेप गरे परिणाम फरक पनि आउन सक्ने उहाँले बताउनुभयो ।
सिटौला समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएको विषय देउवाका लागि प्रत्युत्पादक बन्न सक्ने उहाँको टिमभित्रैका नेताहरूले बताइरहेका छन् । प्रदीपलाई रोक्न बालुवाटारमा एक समूहले देउवालाई भेटरै दबाब दिएको विषय पनि बाहिर आएको छ ।
तर हिजो सिटौला समूहमा रहेका प्रभावशाली युवा नेता गगन थापाको साथले शेखर कोइरालाको प्यानललाई भने बलियो पारेको विश्लेषण भइरहेको छ । कोइराला प्यानलबाट गगनसहित मीनेन्द्र रिजाल महामन्त्रीका उम्मेदवार बनेका छन् । उनीहरुको प्रतिस्पर्धा देउवा समूहका पौडेल र प्रकाशरण महत र प्रकाशमान समूहका विश्वप्रकाश शर्मासँग हुनेछ ।