काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले राजनीतिक दलहरूमा एकता र सहकार्य हुनुपर्ने बताएका छन् । दाहालले राजनीतिक दलहरूबीच समझदारी कायम गरेर सुशासन र विकासमा लाग्नुपर्ने बताएका हुन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका केही नेताले एक्लै हिँड्नुपर्छ भन्ने बताएको भन्दै एक्लै हिँड्ने अहंकार गर्न खोज्दा ओरालो यात्रा सुरु भएको भन्ने नेपालको इतिहासले देखाएको बताए । कांग्रेस महाधिवेशनले राजनीतिक दलहरूको बीचमा समझदारी कायम गरी सुशासन र विकासको नयाँ युगतिर लाने नेतृत्व चयन गरोस् भन्ने आफ्नो चाहना रहेको दाहालको भनाइ थियो ।
कांग्रेस र माओवादी तथा व्यक्तिगत रूपमा आफ्नो विशेष सम्बन्ध रहेको दाहालको भनाइ थियो । ’हामी एक्लै हिँड्ने अहंकार नगरौं, हामी मिलेरै हिँड्ने हो । राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र एकता खोजिराख्नै पर्ने हुन्छ । यो जे सफलता मिलेको छ त्यो एकता र गठबन्धनबाट मिलेको हो,’ उनले राजनीतिक दलहरूबीचको एकताले नै विभिन्न चरणका जनआन्दोलन सफल भएको बताए ।
प्रचण्डले नेपालका राजनीतिक दल र नेताहरूले बेलाबेला चर्को प्रतिस्पर्धा गरे पनि एकले अर्कासँग हातेमालो गरेरै अघि बढेको बताएका थिए ।