महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । सूर्य उपासनाको पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन् । कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् ।
छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदै छन् । कोरोना सङ्क्रमण अलि मत्थर भएपछि यसपालि धक खोलेर पर्व मनाउन पाइएको व्रतालुको भनाइ छ । गत वर्ष कोरोना सन्त्रासले घरआँगनमै छठ मनाउनुपरेको सम्झना गर्दै यसपालि पर्व मनाउन सहज भएको व्रतालु बताउँछन् ।
छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्त्वका तलाउ र नदी परिसर सिङ्गारिएका छन् । पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषिउपजले राम्रो बजार पाउने गरेको छ।
आइतबार (कात्तिक शुक्ल तृतीया) का दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठी देवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।
त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा पसेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ। केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ ।