Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसीको पासोमा सत्ता गठबन्धन, चुनावअघि नै भत्किने विश्लेषकको दाबी

एमसीसीको पासोमा सत्ता गठबन्धन, चुनावअघि नै भत्किने विश्लेषकको दाबी

  • शनिवार, कार्तिक २० २०७८

  • 1.3K
    SHARES

  • एमसीसीको पासोमा सत्ता गठबन्धन, चुनावअघि नै भत्किने विश्लेषकको दाबी

    काठमाडौँ – आगामी चुनावमा सत्तारुढ गठबन्धन मिलेर जान नसक्ने राजनीतिक विश्लेषकहरुले दाबी गरेका छन् । एमसीसीको पासो थापेर गठबन्धन भत्काउने प्रयास भइरहेकोले चुनावमा मिलेर जाने सम्भावना कमै देखिएको उनीहरुको भनाइ छ ।

    सत्तारुढ दलमा एमसीसी विवादले चर्काे रुप लिन थालेपछि गठबन्धन भत्किने सम्भावना देखिन थालेको हो । राजनीतिक विश्लेषक लोकराज बरालले जसोतसो सरकार पूर्ण कार्यकाल चले पनि आगामी निर्वाचनमा गठबन्धन कायम रहने सम्भावना नदेखिएको बताउनुभयो ।

    कांग्रेसले माओवादी र एकीकृत समाजवादीको संगतले पार नलाग्ने बुझिसकेको उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छाैँ भनेर प्रचण्ड र आफूले अमेरिकालाई पत्र पठाइसकेको खुलासा गरेपछि सत्तारुढ गठबन्धनमा भुइँचालो गएको हो ।

    बेलायतबाट फर्केलगत्तै प्रचण्ड र आफूले एमसीसी पास गर्ने प्रतिबद्धता जाहेर गरी अमेरिकालाई पत्र पठाइसकेको खुलासा गरेपछि माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री देउवासँग रुष्ट बनेका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्नुभएको छ भने अन्य नेताहरुले पनि देउवा अभिव्यक्तिको प्रतिवाद गरेका छन् । प्रचण्डले प्रधानमन्त्री देउवाले जथाभावी बोलेर देशभर अनावश्यक तरंग पैदा गरेको टिप्पणी गर्नुभएको छ ।

    गएको बिहीबार बेलायतबाट फर्केलगत्तै त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छाैँ भनेर अमेरिकालाई प्रचण्ड र आफूले पत्र पठाइसकेको बताउनुभएको थियो ।

    देउवाको यस्तो दाबी अध्यक्ष प्रचण्डले खण्डन गरिसक्दा पनि अर्का नेता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

    सामाजिक सञ्जालमार्फत उहाँले एमसीसीमा रहेका आपत्तिजनक बुँदाहरु संशोधन नगरी पारित गर्न नसकिने पार्टीको आधिकारिक निर्णय रहेको बताउनुभएको छ ।

    प्रचण्डले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने प्रयास भइरहेको यसअघि नै बताइसक्नुभएको छ ।

    खासगरी सत्तामा हुँदा एमसीसी पास गर्छाैँ भन्ने तर प्रतिपक्षमा धकेलिँदा एमसीसीलाई सरकारविरुद्धको पासोको रुपमा प्रयोग गर्ने एमाले अध्यक्ष केपी ओलीको चालबाजीले पाँच दलीय गठबन्धन अप्ठ्यारोमा परेको छ ।


    शनिवार, कार्तिक २० २०७८०७:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij