काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका दश स्थायी कमिटी नेताहरुसहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आजको निर्णयअनुसार एमाले पार्टी संरचना अब २०७५ साल जेठ २ गते अगाडिको अवस्थामा क्रियाशील हुने उहाँले बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधानका लागि ६ सदस्यी कार्यदल पनि गठन गरिएको छ ।
कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहनुभएका ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० देखि १२ गतेसम्म पार्टीको दशौं महाधिवेशन काठमाडौँमा आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
एमाले बैठकले एकताको पक्षमा नलागी विभाजन रोजेका नेताहरुलाई पनि मुलघरमा फर्कन आग्रह गरेको छ । तर एमालेबाट विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुभएका नेता माधवकुमार नेपालले ओलीले पार्टीबाट लखेटेपछि नयाँ पार्टी निर्माण गर्र्नुबाहेक आफूसँग अर्काे विकल्प नभएको बताउनुभयो ।
चन्द्रागिरिमा नवगठित पार्टीको प्रथम भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीले नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने बताउनुभयो ।
नेता नेपालले ओलीले पार्टीबाट निकालेका आफूहरुलाई नयाँ पार्टी पनि निर्माण गर्न नदिएर घरको न घाटको बनाउने षड्यन्त्र भैरहेको पनि बताउनुभयो । उहाँले ओली सच्चिए नयाँ पार्टी गठन गरेलगत्तै पनि आफूहरु एकताका लागि तयार रहेको बताउनुभयो ।
नयाँ पार्टी गठनका लागि चाहिने २० प्रतिशत संख्या पुग्न नदिने चलखेल भैरहेको नेता नेपालको भनाइ थियो ।
यसैबीच नगगठित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुको समूहमा मध्यपन्थी अवसरवाद जन्मिएको भन्दै उनीहरु लामो समय टिक्न नसक्ने दाबी गर्नुभएको छ ।
चन्द्रागिरीमा पार्टीको केन्द्रीय समिति बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै खनालले माधव नेपाल समूह छाडेर एमालेमा बसेका १० जना स्थायी कमिटी सदस्यप्रति कटाक्ष गर्नुभएको हो । उहाँले अहिलेको एमाले विभाजन नव निर्माणको लागि विद्रोह रहेको बताउनुभयो ।
माधवकुमार नेपाल बाहेकको मात्रै पार्टी एकता हुने अडानमा रहनुभएका एमाले अध्यक्ष केीि ओलीको चाहना आजको स्थायी कमिटी बैठकमार्फत पूरा भएको छ ।
तर एमाले पार्टी निर्माणमा महत्वपूर्ण हिस्सा ओगटेका माधव नेपाल र झलनाथ खनाल लगायतका नेतालाई बाहिर राखेर गरिएको एकताले कत्तिको सार्थकता पाउला त्यो भने समयले बताउने छ ।