काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफनो समूह सरकारमा नजाने कुरा प्रष्टसँग गठबन्धनका नेताहरुलाई बताइसकेको जानकारी दिनुभएको छ ।
सत्तापक्षले माधव समूहका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भएको दाबी गरिरहेका बेला वरिष्ठ नेता नेपालले भने आफूहरु सरकारमा नजाने कुरा यसअघि नै जानकारी गराइसकेका बताउनुभएको हो ।
मन्त्री बन्न दाम्लो चुँडाउन थालेका आफ्नो समूहका केही सांसदहरुले पनि अहिले सरकारमा नजान गरेको आग्रह स्वीकार गरिसकेको नेता नेपालले बताउनुभयो ।
‘केही साथीहरु हामी जान्छौँ भनेर झण्डै दाम्लो चुँडालेर तयार हुनुभयो,’ नेता नेपालले भन्नुभयो, ‘दाम्लो चुँडाल्नेलाई म के गर्न सक्छु । आफ्नैलाई त रोक्न सकिएको छैन। तैपनि मैले भनेको कुरालाई मान्नु भएको छ। दाम्लो नचुँडाउनुहोला मैले भनिरहेको छु । अहिले अन्तिम कोसिस गर्न दिनुहोस् । मन्त्री ठूलो कुरा होइन । विचार ठूलो कुरा हो । पद ठूलो कुरा होइन, नीति ठूलो कुरा हो ।’
सरकारमा मन्त्री थप्न आफूले नरोकेको बताउँदै नेपालले एमाले एकताका लागि अन्तिम प्रतिक्षामा रहेको बताउनुभयो ।
‘हामीले रोेकेका छैनौँ सरकारलाई,’ उहाँले भन्नुभयो, ‘हामीले भनेका छौँ कि तपाईंहरु सरकार बनाउँदै गर्नुहोस्, मन्त्री बनाउँदै गर्नुहोस् । अहिले हामी पठाउन सक्दैनौं । किनभने हाम्रै टुंगो छैन। कि भने हामी छुट्दै भइदिएको भए फलना–फलनालाई पठाउने भन्ने हुन्थ्यो होला।’
सत्तारुढ गठबन्धनले माधव समूहलाई सरकारमा सहभागी गराए मात्रै सरकार बलियो बन्ने निष्कर्षका साथ प्रयास गरिरहेको छ । एमालेलाई फुटाएर भए पनि माधव समूहलाई सरकारमा ल्याउने कसरत देउवा–दाहालले गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ ।
माधव समूहका केही नेताहरु ओलीसँग सँगै रहन नसक्ने भएकाले पार्टी फुटाएर भए पनि सरकारमा सहभागी हुन नेता नेपाललाई दबाब दिइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुुर देउवा निकट कांग्रेस नेता एनपी साउँदले पनि माधव समूहलाई सरकारमा ल्याउने प्रयासका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेको बताउनुभयो ।
एमाले फुटाएर भए पनि माधव समूहलाई सरकारमा ल्याउने कसरत चलिरहँदा वरिष्ठ नेता नेपालले भने आफूहरुको इच्छा र चाहना विभाजन नभै एकता नै रहेको जवाफ दिनुभएको छ ।
एकताका सबै ढोका बन्द भए मात्रै पार्टीलाई पुनर्गठन उहाँले बताउनुभयो । पार्टी पुनर्गठन आफूहरुको अन्तिम उपाय रहेको पनि नेता नेपालले बताउनुभयो ।
पार्टी एकताका लागि अध्यक्ष केपी ओलीलाई सुधार्न टुना मुना र प्राथनाका उपायहरु पनि अपनाउन उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अझै पनि अन्तिम प्रतिक्षामा छौँ। अझै पनि कोसिस जारी छ । हाम्रो कोसिस गर्ने कमरेडले सक्नुहुन्छ कि, मन परिवर्तन गर्नका लागि ।’
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने माधव समूहका कारण निर्माण भएको सरकार उसकै कारण ढल्ने खतरा पैदा भएको टिप्पणी गर्नुभएको छ ।
आज आफ्नो पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले माधव समूहले साथ छाडे देउवा सरकार अल्पमतमा पर्ने विश्लेषण सुनाउनुभएको हो ।
अझै पनि प्रतिगमन निम्ताउने कसरत भैरहेको प्रचण्डले बैठकमा बताएको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रतिगमनको खतरा अझै कायमै रहेकोले वाम–लोकतान्त्रिक गठबन्धनलाई आगामी चुनावसम्मै अघि बढाउनुपर्ने बताउनुभयो ।
केपी ओलीविरुद्धको गठबन्धन आगामी चुनावसम्म कायम राख्ने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि सार्नुभएको छ । तर एमाले एकता सफल भए मुलुकको राजनीतिले फेरि कोल्टे फेर्ने निश्चित प्राय छ ।
त्यसैले पनि कांग्रेस माओवादीले एमाले एकता नचाहेको कतिपय विश्लेषकहरुले बताइरहेका छन् ।