काठमाडौं – नेपालमा हुने तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा सरेको छ । अर्को वर्ष जनवरी २० देखि भारतमा हुने प्रतियोगिताको छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स छन् ।
यस समूहको छनोट चरणको खेल नेपालको दशरथ रंगशालामा हुने तय भएको थियो । प्रतियोगिताका छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुने तय भएको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले कोभिड संक्रमणको बढ्दो असरका कारण नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एएफसीले कोभिडको बढ्दो प्रभावका कारण नेपाल, बंगलादेश र इन्डोनेसियाबाट छनोट खेलहरु बाहिर निकालेको हो । एसिया कप छनोटका लागि नेपालले तयारी तीव्र बनाएको एन्फाले जनाएको छ ।