काठमाडौं– सत्ता गठबन्धनका दलहरुबीच न्यूनतम साझा कार्यक्रममा जुटेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भर्खरै सम्पन्न छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी थिए ।
नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको गठबन्धन सरकारलाई सहयोग गर्नका लागि गठित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज गठबन्धनका शीर्ष नेताहरुले अन्तिम रुप दिएका हुन् ।
साझा कार्यक्रमलाई अन्तिम रुप दिइएको र आज अपराह्न ४ बजे सिंहदरबारमा सार्वजनिक गरिने कार्यक्रम तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।
यसअघि न्यूनतम साझा कार्यक्रमको मस्यौदामा स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्नेलगायतका विवादास्पद प्रस्ताव गरिएका थिए । त्यसलाई लिएर चर्को विरोध भएकाले यो विषय समावेश नरहेको ती सदस्यले बताए ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आज उक्त कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।