काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले देश कोरोना भाइरस महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा आफूले सो मन्त्रालयको जिम्मेवारी लिनसक्ने स्पष्ट पार्नुभयो ।
‘संसद्मै बस भनेनि ठीकै छ, सरकारमा आएर काम गर भनेमा पनि बकाइदा काम गरिनेछ’, उहाँले भन्नुभयो, ‘तर, प्रधानमन्त्रीले मलाई फ्रि–ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’
अर्को प्रशंगमा नेता थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान नडराइकन गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
करिब पाँच वर्षअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री हुनुभएको थियो ।
सो समयमा स्वास्थ्यमन्त्री हुँदा राम्रो काम सम्पादन भएको भन्दै सामाजिक सञ्जालमा थापालाई पुनः स्वास्थ्यमन्त्री बनाउनुपर्ने माग उठिरहेको छ ।
कांग्रेसकै कतिपय नेता–कार्यकर्ताले पनि थापालाई अवसर दिनुपर्ने बताइरहेका छन् ।
‘युवाहरुका ढुकढुकी युवा नेता गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनुपर्छ । नेपाली कांग्रेसका नेताहरुले विवेक पु¥याउन जरुरी छ’, राजु घिमिरेले केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेलाई मेन्सन गर्दै फेसबुकमा लेख्नुभएको छ ।
