काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावमा गए एमाले धुलोपिठो हुने एमालेकै नेताहरुले दावी गरेका छन् ।
ओली जनताको नजरमा गिरिसकेकाले ओलीका कारण नेकपा एमाले पनि बदनाम भएको उनीहरुको भनाई छ ।
एमाले नेता तथा सांसद मेटमणि चौधरीले ओली आफुमात्रै ध्वस्त नभएर उहाँलाई सहयोग गर्ने नेता तथा कार्यकर्ता र पार्टीहरुलाई समेत ध्वस्त पारेको बाउनुभयो । “उहाँले आफुसँगै नेकपा एमाले, उहाँलाई सहयोग गर्ने माओवादीका नेता, जसपाका नेतालाई समेत ध्वस्त पार्नुभयो,” नेता चौधरीले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो ।
ओलीले एमालेसँगै कम्युनिष्ट आन्दोलन समेत बदनाम गराएको र आम नागरिकलाई एमाले र कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा जगाएको आरोप पनि उहाँले लगाउनुभयो । विश्वका धेरै देशमा मुख्य नेताले नै पार्टी र कम्युनिष्ट आन्दोलन सिध्याएको उदाहारण प्रस्तुत गर्दै नेता चौधरीले नेपालमा पनि ओली त्यहीबाटोमा लागेकाले आफुहरु आन्दोलन जोगाउने संघर्षमा रहेको बताउनुभयो ।
सत्तामा भएका बेला ओलीको वरीपरी भएकाहरु नै अहिले ओलीलाई विस्तारै छाडेर माधव नेपाल पक्षमा आउन थालेको जानकारी दिदै उहाँले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
“ओलीसँग लागेपछि ध्वस्त भइदोरहेछ भन्ने अहिले धेरैले बुझदै गएका छन्, त्यसैल अव ध्वस्त हुने बाटोमा किन लाग्ने भनेर धेरैले ओलीलाई छाड्न थालेका छन,” नेपाली बसहमा पत्रकार ऋषि धमलासँग नेता चौधरीले भन्नुभयो ।
ओली पक्ष र नेपाल पक्षका बीचमा हरेक कुरालाई हेर्ने दृष्टीकोण नै फरक रहेकाले सँगै रहन नसक्ने उहाँले बताउनुभयो । उहाँले एमालेको नेपाल पक्ष सरकारमा सहभागी हुने दावी गर्दै त्यसपछि आइपर्न सक्ने कानुनी अड्चन फुकाउने उपायहरुको बारेमा अहिले छलफल भइरहेको जानकारी दिनुभयो ।