काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता भिम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनु हुने भएको छ । प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको दिन उहाँले देउवालाई मत दिन पनि नसक्ने र विपक्षमा उभिन पनि नसक्ने भएपछि सांसद पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
उहाँले आफु नैतिक दवावमा परेको भन्दै कतिपय नेताहरुले राजीनामा नगर्न दवाव दिदा दिदै पनि राजीनामाको घोषणा गर्नु भएको थियो । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले आज आफ्ना मतदाता, आम जनता तथा सुवेच्छुक र नेताहरुको सुझाव, आग्रह र निर्णयलाई सम्मान गर्नुपर्ने भएकाले राजीनामाका बारेमा सोँचविचार गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उहाँहरुको स्वार्थभन्दा मेरो केही छैन, निर्णय मान्नु पर्दछ भन्नेमा छु, विचार गर्ने अवस्था आउन सक्छ ।” नेता रावलले जनता, कार्यकर्ता, देशको हितका लागि आफुले राजीनामाको घोषणा गरेको बताउदै जनताको निर्देशन, माया र निर्णयलाई मान्न तयार हुनुपर्ने बताउनुभयो ।