काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको सुरुवाती खेल गुमाउने भएका छन् । भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।
क्रिकइन्फोले भिसा समस्याको कारण उनले प्रतियोगिता नै गुमाउने सम्भावना रहेकोसमेत जनाएको छ । सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ । ओभल इन्भिन्सिबल्सका कप्तान साम विलिङ्सले सन्दीप खेल्ने–नखेल्ने अनिश्चित रहेको बताएका छन् ।
तर, सन्दीपको टिम इन्भिन्सिबल्सले भने यस विषयमा केहि बताएको छैन । क्रिकइन्फोकाअनुसार सन्दीपले प्रतियोगिता खेल्न नपाएमा उनको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीलाई अनुबन्ध गर्ने तयारी गरेको छ । सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका छन् । उनको क्वारेन्टिन अवधि आज सकिँदैछ ।
१०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ । पहिलो खेलमा सन्दीप आबद्द इन्भिन्सिबल्स् र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टि–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए । त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।