काठमाडौँ – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ५३ वर्षको लामो प्रतिपक्षापछि इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यस उपाधिसँगै इटालीले दोस्रोपटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा घरेलु मैदानमा युरोकपको उपाधि जितेको थियो । पहिलोपटक फाइनलमा पुगेको इंग्ल्यान्ड भने उपाधि जित्न असफल भएको छ ।

लण्डनस्थित वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो । पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनुची र फेडेरिको बेर्नाडेस्कीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।
यता, इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस रासफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र बाकाए साकाकोे प्रहार भने इटालीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोकेका थिए ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो । खेलको दोस्रो मिनेटमै लुक शँले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे । तर, खेलको ६७ औं मिनेटमा बुनुचीले गोल गर्दै इटालीलाई १–१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए ।

इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्डले भने डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो ।

पेनाल्टी सुटआउटमा इंल्याण्डका तीन पेनाल्टी रोकेका इटालीका गोलकिपर डोनारुम्मा फाइनलका म्यान अफ दि म्याच भए ।