एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनल मेसी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मेसीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते ।
दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल)को प्राविधिक टोलीको अध्ययनपछि मेसी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको हो । कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वाेत्कृष्ट खेलाडीको अवार्ड बाँडेका छन् । समापन समारोहमा भने मेसीले मात्र अवार्ड ग्रहण गरे ।

कन्मेवलको छनोट समितिले दुईमध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वाेत्कृष्ट खेलाडी घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मेसीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट गरेका छन् । यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । मेसी र कोलम्बियाका लुइस डियाजले समान ४ गोल गरेका थिए । तर असिस्टमा मेसी अघि रहेकाले उपाधि जितका हुन् ।

यस्तै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज कोपाको उत्कृष्ट गोलरक्षक बने ।
आज बिहान माराकाना स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले आयोजक तथा साविकको विजेता ब्राजिललाई १–० ले हराउँदै २८ वर्षपछि कोपाको च्याम्पियन बनेको थियो । यस्तै मेस्सी पनि अर्जेन्टिनाबाट पहिलो उपाधि जित्न सफल भएका हुन् ।