काठमाडौं – ब्राजिलमा जारी ४७ औँ संकरणको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा आइतबार बिहान दक्षिण अमेरिकाका चिरपरिचित प्रतिद्धन्द्धी अर्जेन्टिना र ब्राजिल प्रतिस्पर्धा गर्दैछन् । यस प्रतिस्पर्धालाई प्राय विश्वका अधिकांश फुटबल समर्थकले ड्रिम फाइनलको रुपमा लिएका छन् । किनकि, सन् २००७ को कोपा अमेरिकाको फाइनलयता यी दुई टोलीबीच कुनै पनि प्रतियोगिताको फाइनलमा भेट भएको पहिलोपटक हो ।
त्यसो त अर्जेन्टिना र ब्राजिललाई विश्वकपकै फाइनलमा भिडेको हेर्न धेरै समर्थकले चाहेका थिए, तर त्यो हालसम्म सम्भव भएको छैन ।
कतिपय समर्थकले आइतबारको फाइनललाई नेइमार र लियोनल मेसीबीचको भिडन्तका रुपमा लिएका छन् । हुन पनि यी दुई खेलाडीले प्रतियोगितामा राम्रो खेल देखाइरहेका छन् । मेसीले चार गोल र पाँच असिस्ट गरेका छन् भने नेइमारले दुई गोल र तीन असिस्ट गरेका छन् ।

मेसी र नेइमार दुवैले अहिलेसम्म कोपा अमेरिकाको उपाधि जितेका छैनन् । त्यसैले दुवै स्टार कोपा जित्न आतुुर रहेको विश्लेषण गरिएको छ ।
जारी महादेशीय प्रतियोगितामा दुवै टिम रक्षात्मक रुपमा पनि बलिया देखिएका छन् । ब्राजिलले ६ खेलमा दुई गोल मात्र खाएको छ । यता, अर्जेन्टिनाले भने हालसम्म तीन गोल खाएको छ । योपटक अर्जेन्टिनाको पनि सुधारिएको डिफेन्सलाइन छ ।
फरवार्ड र मिडफिल्डलाइन पनि दुवै टोलीको धारिलो र मजबुत नै छ । कोलकिपिङमा पनि अर्जेन्टिनाले योपटक सुधार गरेको देखिन्छ ।
यद्यपि, समग्रमा आफ्नो घरेलु मैदानमा खेलिरहेको ब्राजिल अर्जेन्टिनाभन्दा बलियो रहेको फुटबल पण्डितहरुले विश्लेषण गरिहेका छन् ।
यसैबीच, उपाधि भिडन्तअघि खेलाडीहरूबाट एक अर्काप्रति लक्षित टिप्पणी पनि आइरहेका छन् । अझ मैदानमै पनि त्यसो गरिने ब्राजिलका रिचारलिसनको भनाइ छ ।

यता, अर्जेन्टिनी कोलकिपर इमिलियानो मार्टिनेजले भने ब्राजिलभन्दा आफ्नो टोली कमजोर नभएको दाबी गरेका छन् ।
त्यस्तै, ब्राजिलियन स्टार नेइमारले पनि आफूहरुले फाइनल जितेर बार्सिलोनाका आफ्ना पूर्वसहकर्मी मेसीलाई निराश बनाउने बताएसकेका छन् ।
अर्कोतिर, मेसीले पनि नेइमारलाई कमजोर नआँक्न आफ्ना सहकर्मीहरुलाई सुझाब दिएका छन् ।
दक्षिण अमेरिकाका दुई सशक्त टिम फाइनलमा भिड्दा खेल तनावरहित नहुने विश्लेषण गरिएको छ ।

दुई टिमबीचको प्रतिद्वन्द्वीता यति गहिरो छ कि, सरकार प्रमुखहरू समेत एक आपसमा व्यङ्ग्य गरिरहेका छन् । शुक्रबार मात्रै ब्राजिलका राष्ट्रिपति जायर बोल्सोनारो उनका अर्जेन्टाइन समकक्षी अल्बर्टो फर्नान्डेजसँग कुरा गरिरहेका थिए । त्यहाँ पनि कोपा फाइनलको विषय उठ्यो ।
अनि बोल्सोनारोले नतिजा अनुमान गर्दै भनिदिए, ‘नतिजा ब्राजिलको पक्षमा ५–०’ को हुन्छ । यता, जवाफमा अर्जेन्टाइन फर्नान्डेज हाँसे मात्र ।