काठमाडौं - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।
खेलमा अग्रता अर्जेन्टिनाले ७ औँ मिनेटमा नै लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । कप्तान लियोनल मेसीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए ।

दोस्रो हाफको ६१ औँ मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने । उनले तीन पेनाल्टी बचाए ।

कोलम्बियाको पहिलो प्रहारमा जुआन कोर्डाडोले गोलमा परिणत गरेका थिए । त्यसपछि अर्जेन्टिनाका कप्तान मेसीले गोल गरेका थिए । डाभिन्सन सान्चेजको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले बचाउँदा अर्जेन्टिनाका रोड्रिगो डि पउलको प्रहार आकासिएको थियो ।

त्यसपछि यारी मिनाको प्रहारलाई मार्टिनेजले विफल पार्दा अर्जेन्टिनाका लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै टोलीलाई अघि बढाए । त्यसपछि मिगुइल बोर्जाले गोल गर्दै कोलम्बियाको सम्भावना जीवित राखेका थिए । तर, लोउटारो मार्टिनेज गोल गरेपछि अर्जेन्टिना फाइनल नजिक पुगेको थियो । कोलम्बियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजेल विफल पार्दै अर्जेन्टिनालाई फाइनलको बाटोमा डोर्याए ।
अब अर्जेन्टिनाले उपाधि भिडन्तका लागि आयोजक ब्राजिलसँग फाइनल खेल खेल्नेछ । फाइनल खेल आगामी शनिबार (११ जुलाईमा) हुनेछ ।
मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
अब सेमिफाइनलमा पराजित कोलम्बिया र पेरुबीच पनि तेस्रो स्थानको लागि प्लेअफ खेल शुक्रबार हुनेछ ।