एजेन्सी - फिफा बरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै पूर्वविजेता इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको दोस्रो क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीमा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए पनि आफ्नो टोलीको जितका लागि पर्याप्त भएन ।

खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को स्थितिमा पुर्याए ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २–१ ले आफ्नो बनायो ।
यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानसमेत बनाएको छ ।
इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
अब इटालीले फाइनल प्रवेशका लागि सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
गएराति नै भएको पहिलो क्वार्टरफाइनल खेलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।