Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
युरोकप :

क्रोएसियामाथि रोमाञ्चक जित हासिल गर्दै स्पेन क्वार्टरफाइनलमा

क्रोएसियामाथि रोमाञ्चक जित हासिल गर्दै स्पेन क्वार्टरफाइनलमा

  • मंगलवार, आषाढ १५ २०७८

  • 699
    SHARES

  • क्रोएसियामाथि रोमाञ्चक जित हासिल गर्दै स्पेन क्वार्टरफाइनलमा

    एजेन्सी - रोमाञ्चक खेलमा विश्वकपको उपविजेता क्रोएसियालाई हराउँदै स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    डेनमार्कको कोपनहेगनमा सोमबार राति भएको प्रि–क्वार्टरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै तीन पटकको युरोकप च्याम्पियन स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।

    खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।

    क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालिचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

    स्पेनविरुद्ध सुरुवाती अग्रता भने क्रोएसियाले बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको हो ।

    स्पेनिस मिडफिल्डर पेड्रीको ब्याक पासलाई गोलकिपर उनाई सिमोनले बचाउन सकेनन् । र, उनको खुट्टामा लागेर आत्मघाती गोल हुन पुग्यो ।

    तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए । मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका हुन् ।

    खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २–१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् ।
    खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।

    तर, ८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

    खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका अर्का परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए ।

    निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।

    खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए ।
    त्यसपछि खेलको १ सय ३ औं मिनेटमा ओयाजार्बलले ड्यानी ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५–३ गोलको रोमान्चक जित दिलाए ।

    यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।

    अब स्पेनले अन्तिम आठमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ । अहिले यी दुई टोलीबीच रोमानियामा खेल भइरहेको छ ।

     

     


    मंगलवार, आषाढ १५ २०७८०१:१४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij