एजेन्सी - अष्ट्रियाविरुद्ध अतिरिक्त समयमा कठिन जित निकाल्दै इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको दोस्रो अन्तिम १६ को खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिएसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।

खेलको ९५ औं मिनेटमा चिएसाले गोल गर्दै इटालीलाई १–० गोलको सुरुवाती अग्रता दिलाए ।
खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासा कलासिचले एक गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन र इटालीले खेल २–१ ले जित्यो ।
यस्तै ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गोल गरेका थिए । तर, भिएआर रिभ्युमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।

सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।
यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यसअघि पहिलो खेलमा डेनमार्कले वेल्सलाई ४-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।