एजेन्सी – वेल्सविरुद्ध जित निकाल्दै डेनमार्क जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति नेदरल्यान्ड्समा भएको अन्तिम १६ को पहिलो खेलमा वेल्सविरुद्ध ४-० को जित निकाल्दै डेनमार्क क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
डेनमार्कलाई सानदार जित दिाउन फरवार्ड कास्पर डोलबर्गको दुई गोल गरेका थिए ।
खेलको २७ औं मिनेटमा केस्पर डोलबर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाए । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारलाई गोलरक्षक ड्यानी वार्डले डाइभ दिए पनि जोगाउन सकेनन् ।
डच क्लब आयाक्सका लागिसमेत खेलेका उनले आफ्नो पूर्व क्लबको मैदानमा नै गोल गर्न सफल भएका हुन् । उनी नियमित फरवार्ड युसुफ पाउल्सेनलाई चोट लागेपछि सुरुवाती रोजाइमा परेका थिए ।
दोस्रो हाफको सुरुवातमा नै डोलबर्गले डेनमार्कको अग्रता दोब्बर पारे । ४८ औं मिनेटमा मार्टिन ब्रेथवेटले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसमा नेको विलियम्सले खराब क्लिअरेन्स सिधै डोलबर्गको खुट्टामा पुगेको थियो । उनले ६ यार्ड बक्सबाट सहजै गोलरक्षक वार्डलाई बिट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।
८७ औं मिनेटमा जोकिम माहेलले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे ।
९० औं मिनेटमा वेल्स १० खेलाडीमा सिमित भयो । माहेलमाथि खराब ट्याकल गरेपछि विल्सनलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । वेल्सका लागि इथान अम्पादूले पनि अघिल्लो खेलमा सिधै रातो कार्ड पाएका थिए ।
इन्ज्युरी समयमा ब्रेथवेटले गोल गर्दै डेनमार्कको फराकिलो जित पक्का गरे ।
डेनमार्कले अब क्वार्टरफाइनलमा आइतबार हुने चेक रिपब्लिक र नेदरल्यान्ड्सको विजेतासँग खेल्नेछ ।